खोलाले बगाउँदा ४८ वर्षीय पुरुष बेपत्ता
कैलाली। कैलाली जिल्लाको चुरे गाउँपालिका-१, गवान्नी निवासी ४८ वर्षीय सेर बहादुर थापा खोलाले बगाउँदा बेपत्ता भएका छन्।
बर्खायाममा परेको अविरल वर्षापछि खहरे खोलामा आएको बाढीका कारण खोला तर्ने क्रममा आज बिहान थापालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार घटनापछि तत्काल खोजी कार्य सुरु गरिएको भए पनि साँझसम्म थापाको अवस्था खुल्न नसकेको र उनी अझै बेपत्ता रहेका छन्।
घटनापछि परिवार शोकमा डुबेको छ भने प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बर्खायाममा नदी तथा खोलामा पानीको बहाव अत्यधिक हुने भएकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।











