१०१ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक मोरङबाट पक्राउ
विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङबाट १०१ ग्राम हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको साउन ६ गते जारी प्रेस विज्ञप्तिअनुसार भारतबाट नेपालमा लागुऔषध बिक्री–वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा मोरङको रंगेली नगरपालिका–७ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली, मोरङ बुझाइएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत, बिहार राज्यको अररिया जिल्लाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०१ ग्राम हेरोइन, BR 38AH 7193 र BR 38AQ 8243 नम्बर प्लेट भएका दुईवटा भारतीय मोटरसाइकल तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।











