सरकार र शिक्षकहरुबिच ९ बुँदे सहमति, आजबाट आन्दाेलन स्थगित ।
काठमाडाैं । करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ ।
सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । हिजो शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए ।
शिक्षकका मागका विषयमा मन्त्रिपरिषद्को निर्णय र सत्तारूढ दलबाट चालु संसद् अधिवेशनको असार १५ भित्रै विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता पाएपछि शिक्षकहरू शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक प्रदर्शन रोकेर विद्यार्थी भर्ना, नियमित कक्षा, परीक्षा सञ्चालनमा सहभागी हुन सहमत भएका हुन् । शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान, पठनपाठन, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा रोकिएको थियो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै चैत २० देखि जारी आन्दोलन स्थगितको निर्णय गरेका छन् । महासंघले शिक्षकहरूलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ ।











