सरकारका निर्णय पुनरावलोकन गर्न एनसेलको प्रधानमन्त्री कार्यालयमा आग्रह


सरकारका निर्णय पुनरावलोकन गर्न एनसेलको प्रधानमन्त्री कार्यालयमा आग्रह

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले कम्पनीसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय तथा दूरसञ्चार नियमावलीका केही प्रावधान पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष आग्रह गरेको छ। 

एनसेलले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा कम्पनीको शेयर खरिद–बिक्री, अभिलेख तथा स्वीकृतिसम्बन्धी सरकारी निर्णयहरू कानुनअनुकूल नरहेको दाबी गरिएको छ।

साथै, ती निर्णय तथा लाइसेन्स नवीकरणका क्रममा लागू गरिएका केही शर्तहरूले संविधान, प्रचलित कानुन र विदेशी लगानीसम्बन्धी व्यवस्थासँग मेल नखाने कम्पनीको भनाइ छ।

पत्रमा यसअघि पनि प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरिएको उल्लेख गर्दै हालसम्म कुनै निर्णय वा निर्देशन प्राप्त नभएकाले पुनः सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी गरी निर्णयहरूको पुनरावलोकन गरिदिन अनुरोध गरिएको छ।