तिलोत्तमा–१० मा बाबुको चक्कु प्रहारबाट २१ वर्षीय छोराको मृत्यु
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका २१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका सरोज चौधरी रहेका छन्। बिहीबार बिहान करिब ७:०० बजे उनी आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना मणिग्रामस्थित क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो।
घाइते सरोजलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको थियो। उपचारकै क्रममा साँझ ४:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भने घटना दुर्घटना नभई घरायसी विवादका क्रममा सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको जनाएको छ।
प्रहरीले सहसराम चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











