सीताराम विवाह सम्पन्न, आज ५६ व्यञ्जन खुवाएर अयोध्याको जन्तीलाई विदाई गरिने
जनकपुरधाम । सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।
त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्षझै यस शवर्ष पनि वैवाहिक समारोह मनाइयो । वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु, साधुसन्त र भक्तजनहरू उपस्थित थिए ।
यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती समेत आएका थिए ।
साताव्यापी विवाह पञ्चमी अन्तर्गत शुक्रवार दिउँसो स्वयंमवर र राति विवाह सकेपछि आज रामकलेवा विधि गरिदैछ । यस अवसरमा जानकी मन्दिरमा विशेष भण्डारा आयोजना हुन्छ ।
अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर विदाई गरिन्छ । उनीहरुलाई दोसल्ला, कमन्डल र नगद दक्षिणा दिएर सम्मानपूर्वक बिदा गर्ने परम्परा छ । जसलाई ‘रामकलेवा’भनिन्छ ।
विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुनेछ ।











