लुम्बिनी माइक्रोफाइनान्सको नयाँ शाखाको उद्घाटन समारोह मुम्बइमा सम्पन्न ।

मुम्बइ,भारत। मुम्बईको ठाणे स्थित लुम्बिनी माइक्रोकेयर फाउन्डेसनको संस्थागत इकाई लुम्बिनी माइक्रोफाइनान्सको नयाँ शाखाको औपचारिक उद्घाटन माजी नगरसेविका वासंती पंढरी राऊतको सम्मानित हातबाट यहि डिसेम्बर १४ तारिकका दिन सम्पन्न भएकाे छ । शाखाको उद्घाटन समारोह ठाणे (पश्चिम) को आनन्द नगरस्थित यूनाथी वुड्स, फेज–४, नयाँ होराइजन स्कूलको पछाडि रहेको कार्यालयमा सम्पन्न भएकाे हाे ।
२१ जना संस्थापक सदस्यहरूको सहयोगमा नोभेम्बर २०२० मा स्थापना गरिएको उक्त संस्था १७ फेब्रुअरी २०२४ मा दर्ता प्रक्रिया पूरा भएको हो ।
स्थानीय समुदायलाई वित्तीय सहायता प्रदान गरि उनिहरूको जीवनस्तरमा सुधार ल्याउन मद्दत मिलोस् भन्ने यस सस्थाको मुख्य उद्देश्य रहेको शाखा प्रबन्धकले जानकारी दिनुभयाे । लुम्बिनी माइक्रोफाइनान्सले साना व्यवसायहरूको प्रोत्साहन, शैक्षिक उद्देश्य, स्वास्थ्य क्षेत्रमा आपतकालीन स्थिति र विवाहका लागि वित्तीय सहायता प्रदान गर्दै आएको छ। शुरूवाती कालदेखी अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिहरूले यस सेवाबाट प्रत्यक्ष लाभ लिएकाे संस्थाका पदाधिकारीहरु बताउछन् ।
कम्पनीले १% का दरले प्रति महिनाको ब्याज दरमा ऋण सुविधा उपलब्ध गराउँछ, जुन बैंकका ब्याज दरहरू भन्दा निकै कम छ। यस ऋण सेवामार्फत, ग्राहकहरूले एक पटकमा १,२५,००० ( एक लाख पच्चीस हजार ) सम्मको ऋण प्राप्त गर्न सक्नेछन् । ठाणे शाखाका शाखा प्रमुख प्रेम प्रधानज्युले यस क्षेत्रका समुदायहरूसँग सहकार्य गर्न र लुम्बिनी माइक्रोफाइनान्सको उद्देश्यलाई अगाडि बढाउन सहयोग रहने कुराहरुमा सबैलाइ विस्वस्त पार्नुभयाे। उद्घाटन कार्यक्रममा लुम्बिनी माइक्रोफाइनान्सका तीन प्रमुख बोर्ड सदस्यहरू प्रतिभा खत्री, टेकप्रसाद पराजुली, र लक्ष्मण खत्रीको उपस्थिति रहेको थियो। कार्यक्रममा बाेल्दै यस नयाँ शाखाले स्थानीय समुदायलाई आर्थिक सेवामा सजिलो पहुँच दिने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयाे। साथै कार्यक्रममा प्रचारप्रसार विभागका सदस्यहरू रेखा साह , पार्वती चौधरी, नीतु न्याैपाने, सङ्गिता थापा, शोभा शिव अधिकारी र रामप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन पश्चात कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण खत्रीले कार्यक्रममा उपस्थित सबैलाई लुम्बिनी माइक्रोफाइनान्सको सेवाहरूका बारेमा जानकारी गराउनुभयाे। उनले कम्पनीको स्थापना कसरी भएको हो र यसको जग कसरी बलियो बनाइएको हो भन्ने विषयमा प्रकाश पार्नुभयाे। संस्थाको आधारशिला निर्माणमा रामप्रसादजीको पनि महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयाे ।
"कम्पनी कसरी सञ्चालन भइरहेको छ र कोष कहाँबाट आउँछ भन्ने कुरा यहाँहरू सबैलाई थाहा छ। यो सबै तपाईंहरूको सहयोग र साथ सपोर्टकै कारण सम्भव भएको हो। आगामी दिनहरुमा पनि यसरी नै साथ दिइराख्नुहुनेछ भन्ने अपेक्षा गर्दछु।" भन्दै प्रबन्ध निर्देशक लक्ष्मण खत्रीले हौसला र अपेक्षा रहेको कुराहरु राख्नुभयो । साथै १% प्रति महिनाको न्यून ब्याज दरमार्फत स्थानीय बासिन्दालाई सहयोग गर्दै आएको सेवा प्रणालीको विवरण पनि प्रस्तुत गर्नुभयो ।
उपस्थित समुदायका प्रश्न र जिज्ञासाहरूलाई कम्पनीका बोर्ड सदस्यहरूले प्रत्यक्ष रूपमा जवाफ दिएर समाधान गरे। यसले संस्थाको पारदर्शिता र समुदायप्रतिको जिम्मेवारीलाई अझै प्रष्ट पारेको देखिन्छ । उद्घाटन समारोहमा विभिन्न प्रतिष्ठित समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा महासंघका भुतपूर्व अध्यक्षहरू डीबी रावल र भरत रावल, जगत सिंह, समाजसेवी बुद्धिराम पाण्डे, तथा निवर्तमान कोषाध्यक्षको पनि उपस्थिति रहेको थियो। साथै माजी नगरसेविका वासंती पंढरी राऊत, वैजयंती राऊत, ठाकूर म्याडम, प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य हेमन्त कसन्डेली, रतन चन्द भारती, र डम्मर साही लगाएत अन्य व्यक्तित्वहरू साथै, श्री प्रेम प्रधान ज्युको अगुवाइमा १५० भन्दा बढी अतिथिहरुको उपस्थिति पनि रहेको थियो।
लुम्बिनी माइक्रोफाइनान्सको रजिस्टर्ड कार्यालय मीरा भाइन्दर स्थित रहेको र अब यसले ठाणेमा पनि नयाँ शाखाको सुरुवात गर्दै स्थानीय समुदायलाई अझ सहज र छिटो वित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको प्रष्ट देखिनुको साथै नयाँ शाखाले ठाणे र यसको वरिपरीका समुदायलाई सहुलियत दरमा ऋण सेवा प्रदान गर्दै, महिलाको सशक्तिकरण र साना व्यवसायहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। यस शाखाले स्थानीय बासिन्दालाई आर्थिक सहायता उपलब्ध गराउने अवसर बढाउँदै, समुदायमा समृद्धि ल्याउने कुरामा शाखा प्रमुखले प्रतिबद्धता जनाउनुभएकाे छ ।