दैलेखमा दुर्घटनाग्रस्त गाडी अझै फेला परेन, पाँच जना सवार रहेको आशंका


दैलेखमा दुर्घटनाग्रस्त गाडी अझै फेला परेन, पाँच जना सवार रहेको आशंका

दैलेख। दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा बिहीबार कर्णाली नदीमा खसेको गाडी अझै फेला पर्न सकेको छैन। दुर्घटनामा परेको कर्णाली प्रदेश ०२१ ख १०५५ नम्बरको फोर्स गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको थियो।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रु तथा गाडीको खोजी कार्य भने शुक्रबार साँझसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

हाल सशस्त्र प्रहरी बलका ६ जना गोताखोर, नेपाली सेना र नेपाल प्रहरी को संयुक्त टोलीले कर्णाली नदीमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

प्रहरीका अनुसार विभिन्न सरोकारवाला निकाय, आफन्तजन, यातायात समितिहरू तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरणका आधारमा गाडीमा सिर्जना खड्का (रास्कोट-२), जोखे तिरुवा (पचालझरना-९), मेखे तिरुवा (पचालझरना-९), रामु सुवेदी (सुर्खेत), तुलाराम सुवेदी (सुर्खेत) सवार रहेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दुर्घटनासम्बन्धी कुनै पनि भरपर्दो सूचना वा जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको जनाएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।