बुटवल-नारायणघाट सडक : एक वर्ष म्याद थप्ने तयारी


बुटवल-नारायणघाट सडक : एक वर्ष म्याद थप्ने तयारी

नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए ।

“निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उनले जानकारी दिए ।

दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ । एसियाली विकास बैंक ९एडिबी०को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।