गायक प्रशान्त तामाङको ४३ वर्षकाे उमेरमा निधन
भारत । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।
४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।
त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।
उनकाे निधनप्रति सामाजिक संजालमा धेरैले दुख व्यक्त गरेका छन् ।











