तिलोत्तमामा ५८ करोड लागतमा आधुनिक मंगलापुर–कान्छीबजार सडक सञ्चालनमा


तिलोत्तमामा ५८ करोड लागतमा आधुनिक मंगलापुर–कान्छीबजार सडक सञ्चालनमा

रुपन्देही ।  रुपन्देही जिल्लाकाे तिलोत्तमामा विश्व बैंकको सहयोगमा निर्माण गरिएको मंगलापुर–बेबरा–कान्छीबजार सडक सञ्चालनमा आएको छ। करिब ७ किलोमिटर लम्बाइको उक्त सडक आधुनिक प्रविधि प्रयोग गरी निर्माण गरिएको हो।

नगरपालिकाका अनुसार सडक निर्माणमा कुल ५७ करोड ८२ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। परियोजना नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत सम्पन्न गरिएको हो।

सडकमा कालोपत्रे, दुवैतर्फ नाली, फुटपाथ, सडक बत्ती, ट्राफिक संकेत तथा शहरी सौन्दर्यीकरणका काम समावेश गरिएको छ। यसअघि साँघुरो रहेको सडकलाई विस्तार गरी ७.५ मिटर चौडा बनाइएको छ भने पैदल यात्रुका लागि फुटपाथ पनि निर्माण गरिएको छ।

नगरपालिकाले यो सडकले स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सेवा प्रदायकलाई सहज आवागमनमा सहयोग पुग्ने जनाएको छ। धुलो र हिलोको समस्या कम हुने तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

परियोजनाको पहिलो खण्ड मंगलापुर–बेबरा सडक निर्माण शर्मा सगुन जेभीले गरेको हो भने दोस्रो खण्ड बेबरा–कान्छीबजार सडक आशिष–आशीर्वाद जेभीले निर्माण गरेको जनाएको छ।

आइतबार नगर प्रमुख रामकृष्ण खाँणले विश्व बैंक तथा शहरी विकास विभागका प्रतिनिधिहरूको उपस्थितिमा सडकको उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै उनले आधुनिक सडकले तिलोत्तमाको शहरी विकास र सुरक्षित यातायात व्यवस्थापनमा योगदान पुर्‍याउने बताए।