कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार २ जना प्रतिवादीहरू प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भन्ने यज्ञकुमार सापकोटा र महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने सोलुखुम्बु घर भएका ३५ वर्षीय होम बहादुर राई रहेका छन् । 

जिल्ला अदालत काठमाडौंको २०७८ भदौ २९ गतेको फैसलाले उक्त मुद्दामा यज्ञकुमारलाई जन्मकैद सजाय ठहर भएको तथा जिल्ला अदालत सोलुखुम्बुको २०७८ असार २२ गतेको फैसलाले उक्त मुद्दामा होम बहादुरलाई जन्मकैद सजाय ठहर भई दुबै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तानको क्रममा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञकुमारलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट बिहीबार र होम बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारीबाट शुक्रबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।