गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन


गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
काठमाडौं। गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।
प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उहाँले उल्लेख गर्नुभयो ।