गौरिगंगा नगरपालिकामा धान रोपाइँ अन्तिम चरणमा
कैलाली । कैलालीको गौरिगंगा नगरपालिकामा कुल धान रोप्न योग्य जमिनमध्ये करिब ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। ११ वटा वडा रहेको उक्त नगरपालिकामा अहिले करिब २० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ बाँकी रहेको छ।
असार १५ गतेसम्म पनि आकाशबाट पर्याप्त पानी नपरेपछि किसानहरूले बोरिङको पानी पालो लगाउँदै धान रोपाइँ सुरु गरेका थिए। त्यसपछि वर्षा हुन थालेसँगै किसानहरू रोपाइँमा व्यस्त बनेका छन्।
गौरिगंगा नगरपालिकाका किसानहरूले मुख्य रूपमा दुई प्रकारका धान खेती गर्ने गरेका छन्। बिक्रीका लागि मोटो धान र घरायसी उपभोगका लागि मसिनो धान रोप्ने प्रचलन रहेको छ।
गौरिगंगा नगरपालिका कृषि शाखाका प्रमुख विनोद चौधरीका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा धान खेती प्रवर्द्धनका लागि धान पकेट कार्यक्रम सञ्चालन गरेको थियो। किसानलाई उत्पादन भएको धान बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले धान संकलन भवन, बत्ती तथा धान तौल गर्ने काँटाको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार नगरपालिकाको उक्त व्यवस्थासँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत तोकिएको मूल्यमा किसानको धान खरिद गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्षमा किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य दिलाउने उद्देश्यले नगरपालिकाले प्रोत्साहनस्वरूप कृषि मेसिनरी तथा उपकरणसमेत वितरण गरेको जनाएको छ।











