ट्याक्सीमा नयाँ मापदण्ड, इन्धनमा १ हजार सीसी र इभीमा ४० किलोवाट क्षमता अनिवार्य
काठमाडौं। सरकारले अब देखि १ हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने व्यवस्था गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको हो।
यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले यसै साता स्वीकृत गरी बिहीबारदेखि लागू समेत गरेको छ। नयाँ मापदण्ड अनुसार अबदेखि इन्धनमा १ हजार सीसी र इभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सीमा दर्ता हुन पाउने छैनन्।
अहिले बजारमा चलिरहेका प्राय: सबै ट्याक्सी ८०० सीसीभन्दा कम क्षमताका हुन्। इभीको आगमनले केही ट्याक्सी लग्जरी सेगमेन्टमा प्रवेश गरेका छन्। नयाँ मापदण्डअनुसार नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर (एसी), डिजिटल मिटरसहितको प्रिन्टर, हाइस्पिड अलर्ट, रियर पार्किङ सेन्सर, एबीएस सिस्टम, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ।
एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्ने छ। फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन याेग्य हुनेछन। सरकारले ट्याक्सीलाई सामान्य, विशेष र विशिष्ट गरी ३ तहमा वर्गीकरण समेत गरेकाे छ ।











