राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प
पोखरा। पोखरासहित गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ। राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी प्रदेश सरकारले नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन् ।
शुक्रबार बिहानैदेखि व्यवसायीले बस, ट्याक्सी तथा ढुवानी सेवा प्रदान गर्ने सार्वजनिक सवारीसाधनहरु घर ग्यारेजमै थन्क्याएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै व्यवसायीले आन्दोलन थालेका हुन् ।
यसअघि सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएको महासंघले १५ गते सार्वजनिक सवारीसाधन बन्द गर्दा राजावादीहरुको आन्दोलनलाई समर्थन गरेको भ्रम पर्न सक्ने भन्दै पछि सरेको थियो । आजदेखि गण्डकी प्रदेशभित्र यातायात सेवा ठप्प पारेका व्यवसायीले जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । नियमावली फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडान व्यवसायीको छ ।











