केरवादी दिदीबहिनी समुहद्धारा तिजमिलन कार्यक्रम सम्पन्न ।
बुटवल । केरवादी दिदीबहिनी समुहद्धारा तिजमिलन तथा दरखाने कार्यक्रम बुधबार तिलोत्तमा–१, शंकरनगर, बनबाटिकामा सम्पन्न भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १३ साविकको बौघागुम्हा गा.वि.स वडा नं. ८ र ९, केरवादीमा कर्मघर तथा माईतीघर भई हाल रुपन्देही जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने दिदीबहिनी मिलेर दरखाने कार्यक्रम सम्पन्न भएको हो ।
बुटवल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने केरवादीका करिब ६० जना दिदीबहिनीहरु जम्मा भएर तिजका गितमा नाचगान गर्दै रमाईलो गरि तिजमिलन कार्यक्रम सम्पन्न गरेका हुन् । केहि वर्षयता नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा सो समुहले तिजमिलन तथा दरखाने कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
सुरुमा सामाजिक संजालमार्फत केही दिदीबहिनीमार्फत सुरु भएको यो समुहमा अहिले धेरै दिदीबहिनी जोडिइसकेका छन् । वर्षभरि आ–आफ्नो काममा व्यस्त भएपनि कहिलेकाँही हुने यस्ता कार्यक्रमले दिदीबहिनी बिचको आत्मियता बढेको उनिहरुले बताएका छन् । तिजमिलन कार्यक्रमले तिजमा माईतीघर, जन्मघर जान नपाएपनि आफ्नो बाल्यकाल तथा माईतीका साथीहरुसँग तिजको समयमा गरिएका रमाईला क्षणहरुका झल्को मेटिएको उनीहरुको अनुभव छ ।
उक्त कार्यक्रमको संयोजन गर्नुहुने बुटवल–३ गोलपार्क निवासी चन्द्रकला घिमिरेले भन्नुभयो, तिजमिलन कार्यक्रममार्फत सामाजिक संजालमा दैनिक कुराकानी हुने भएपनि प्रत्यक्ष भेटघाट हुँदाको रमाईलो बेग्लै हुन्छ । यस्ता कार्यक्रमहरुमा भेट हुँदा दुखसुखका कुराकानी खुलेर गर्न पाईन्छ । आफ्नो मन पनि हर्षित हुने र हाम्रो कलासंस्कृतिको पनि संरक्षण पनि हुन्छ, उहाँले भन्नुभयो ।
पहिलेपहिले तिजको अघिल्लो दिनमात्र माईतीघरमा गई खाने दर आजभोलि तिज आउनुभन्दा धेरै अगाडीदेखी नै विभिन्न संघसंस्थामार्फत पार्टीप्यालेस, पार्क तथा आलोपालो आ–आफ्नो घरघरमा बोलाइ खाने खुवाउने चलन छ । यसले तिजपर्वलाई झन् फराकिलो बनाएको छ । अहिले तिजमिलन तथा दरखाने कार्यक्रममार्फत धेरैजनासँग भेटघाट तथा रमाईलो हुने गर्दछ । यसले गर्दा झन् आत्मियता बढेको पाईन्छ ।











