मायादेवी गाउँपालिकामा माटो परीक्षण तथा माटो सुधार कार्यक्रम सञ्चालन हुने
रुपन्देही । मायादेवी गाउँपालिकाले किसानहरूलाई लक्षित गर्दै “माटो परीक्षण तथा माटो सुधार कार्यक्रम” सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको कृषि शाखाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिने जनाएको हो।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका इच्छुक कृषकहरूले माटोको नमुना परीक्षण गराउन सक्नेछन्। परीक्षणपछि कृषकलाई माटोमा रहेका मुख्य तत्व, भौतिक पदार्थ, अम्लीयपन तथा माटोको बनावट सम्बन्धी विवरणसहितको नतिजा उपलब्ध गराइने कृषि शाखाले जनाएको छ।
सूचना अनुसार कार्यक्रमबाट २०० जना कृषक लाभान्वित हुनेछन्। सहभागी हुन चाहने कृषकहरूले ३ दिनभित्र कृषि विकास शाखामा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। साथै, कृषकहरूलाई माटोको नमुना संकलन सम्बन्धी छोटो तालिमसमेत प्रदान गरिनेछ।
गाउँपालिकाले माटो परीक्षण खर्च बाहेक अन्य खर्च कृषक स्वयंले व्यहोर्नुपर्ने जानकारी दिएको छ। कृषि उत्पादन वृद्धि र माटोको गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।











