महाराष्ट्रको गणेश उत्सव: प्रवासी नेपालीहरुले पनि भब्य रुपमा मनाए ।


महाराष्ट्रको गणेश उत्सव: प्रवासी नेपालीहरुले पनि भब्य रुपमा मनाए ।

मुम्बई, भारत  आला रे आला गणपति आला....  महाराष्ट्रमा मनाइने भव्य उत्सव मध्ये गणेश उत्सव अत्यन्तै लोकप्रिय उत्सव हो । यहि उत्सवमा भगवान गणेश जी लाई आफ्नो घर, टोल र छिमेकमा स्थापना गर्न ल्याउँदा सबैको मुखमा गुन्जिने त्यही शब्द हो .........आला रे आला गणपति आला........

विशेष त यो उत्सव महाराष्ट्रमै बढी धुमधामसँग मनाइन्छ तर आजकल भने भारतको अन्य राज्यहरुमा पनि कतै कतै गणेश उत्सव मनाउने गरेको देखिन्छ । ब्याण्ड बाजा सहित विशेष सजावटमा ल्याइने गणेश भगवान आस्थाको प्रतिक मात्रै नभएर समाजलाइ धार्मिक आस्थामार्फत बलियो र एकजुट बनाउने मुख्य पर्व भन्दा फरक नपर्ला । आफ्नो आफ्नो घरमा स्थापना गर्नेहरुले कसैले एक दिन, कसैले डेढ दिन, कसैले तीन दिन, पाँच दिन, सात दिन, नौ दिन र दश दिन राखेर पुजा, आरती गर्ने गरेको देखिन्छ । समूह, सँस्था र टोलहरुमा ठुला ठुला गणेशका मुर्तिहरु पन्डाल बनाएर स्थापना गरि सजि सजावटसँग राख्ने गरेको पाइन्छ । कहि कतै यहाको सनातन धर्मसँग आवद्द झाँकीहरुको पनि आवरण, नाटक मन्चन र दृश्यहरु राखेको देखिन्छ । जे होस यो उत्सवले सबैलाइ आस्थाको डोरिमा बाँधेको छ । 

गणेश उत्सव भारतीयले मात्र नभएर आजभोली महाराष्ट्रमा बस्दै आएका प्रवासी नेपालीहरुले पनि उत्तिकै महत्वका साथ मनाउदै आउन थालेका छन। गणेश भगवानको मुर्ति आफ्नो घरमा ल्याएर पुजा आरती गरेर धुमधामसँग मनाउछन । यथाशक्ति भक्तिभावले कसैले एक दिन, डेढ दिन, तीन दिन, पाँच दिन राखेर पुजा अर्चना गरि गणेश जि लाई पानीमा विसर्जन गर्ने गर्छन । भाद्र मास शुक्ल पक्ष चतुर्थिको दिनबाट गणेश भगवानलाई स्थापना गरेर पुजा शुरु गर्ने गरिन्छ । 

गणेश उत्सव: पौराणिक मान्यता

गणेश उत्सवलाई खासगरी किन मनाइन्छ भन्ने सबैको जिज्ञासा रहेको र यसलाइ सुक्ष्म रुपमा नियाल्दा पौराणिक हिसाबमा धेरै तवरले यस्लाइ ब्याख्या गरेको टिका टिप्पणी देख्न सकिन्छ । त्यसमध्य महाराष्ट्रमै मनाउने चलन भने यस्तो रहेछ । मुगल शासनको बेलामा जनताहरु एकीकृत/संगठित हुन निकै कठिन थियो । जनताहरुलाइ संगठित नगरी मुगल शासनको अन्त्य हुन असम्भव थियो । त्यसैबेला जननेता लोकमान्य तिलकले हिन्दु सनातन धर्म र हिन्दुत्वको अस्तित्वलाई बचाउनलाई एउटा जुक्ति निकाले । पेसवेहरुले आफ्नो आफ्नो घरमा पुजा गर्ने गरेको गणेश भगवानको मुर्तिलाइ समाजमा पनि सामुहिक रुपमा राखेर आम मानिसलाइ पुजा गर्ने निहुले भेटघाट, सर-सल्लाह गर्ने एउटा वातावरण सृजना गरेर सन १८९३ मा पहिलोपटक भारतको पुणेमा सार्वजनिक गणेश उत्सव  शुरु गरे  । जस्मा १० दिन चल्ने यो उत्सवमा सबै पन्डालमा भेला हुन थाले । त्यही मौकामा मुगलहरुलाइ पराजित गर्ने अनेकौं उपायहरुको खोजी गर्न सजिलो भयो ।

गणपति भगवानलाइ विसर्जन गर्दा पानीमै किन डुबाइन्छ ?

शास्त्रहरुका अनुसार वेस व्यासजिले भगवान गणेशजिलाई १० दिन लगाएर महाभारतको कथा सुनाए । १० दिनसम्म लगातार चलेको यो कथाको अन्तिम समय सम्म सुन्दै गर्दा गणेशजिलाइ अत्यन्तै छट्पटि र औडाह भयो । त्यसैले १०औ दिन गणेशजिलाइ पानीमा डुबाएर स्नान गराएपछी भगवान गणेशजि शान्त हुनुभयो । त्यसैले भगवान् गणेशजिको पुजा गरेर अन्तिममा पानीमा विसर्जन गर्ने गरिन्छ भन्ने मान्यता सो उत्सवका पुजारीहरु बताउछन् ।

 

नेपालमा हिन्दु धर्मावलम्बीहरु धेरै भएको हुदा भारतको कतिपय हिन्दु सस्कार/सस्कृतिसँग नेपालीहरु निकै  निकट छन । वास्तवमै हेर्दा गणेश उत्सव महाराष्ट्रमा प्रवासी नेपालीहरु पनि धुमधामसँग मनाउछन । भारतको आर्थिक राजधानी मायानगरी मुम्बईमा मिरा भाइन्दर स्थित लक्ष्मण खत्री/प्रतिभा खत्रीको घरमा पनि डेढ दिन गणपति भगवानलाई विराजमान गराएर धुमधामसँग पुजा गरेर आइतबार साँझ पानीमा विसर्जन गरेको श्री सन्तोष भट्टराईले जानकारी दिनुभयो । पुजापाठ गर्दै गणेश भगवानको अन्तिम बिदाई गर्न पन्डितहरुको उपस्थितीको साथै समाजसेवी श्री टेकप्रसाद पराजुली र अन्य आफन्तजन छिमेकीहरु र नेपाली दिदीबहिनी दाजुभाइहरुको बाक्लो उपस्थिति रहेको लक्ष्मण खत्रीले बताउनुभयो । आफ्नै परम्परागत मौलिकतामा रमाइरहेका नेपाली मनहरु खैजडी, मजुरा र मादलको तालमा भजन कृतनमा निकै जमेर नाच्दै गाउदै आफ्नो श्रद्धा, भक्तिभावको साथमा भगवान गणेशजिलाई बिदाइ गरे ।

विसर्जनको भावनात्मक क्षणमा सबैको मुखमा यहि एक शब्द गुन्जिरह्यो

गणपती बाप्पा मोर्या, पुढ्च्या वर्षी लवकर या .....