गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
याे सांकेतिक तस्बिर AI बाट बनाइएकाे हाे ।

गुल्मी । गुल्मीको कालीगण्डकी कोरिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्टुङका ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको हो।

प्रहरीका अनुसार राति करिब १० बजे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दी क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेपछि दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने पछाडि सवार रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएको भए पनि उपचारकै क्रममा राति मृत्यु भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय जोहाङ र रिडीबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ।