भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार, नेपाल फर्काउने तयारी

मुम्बइ, भारत । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । गत विहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो ।
दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा ‘परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था) को सहयोगमा यही मिति असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको’ उल्लेख छ ।
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैंयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।
नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।