बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार जानकारी दिए। उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ । यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए । अध्यक्षले राखेको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्माले मन्तव्य राखेका थिए। समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी समिति सदस्यलाई नेतृत्वलगायतका विषयमा खुलेर धारणा राख्न भनेका थिए । एक नेताका अनुसार उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले एकलौटी रूपमा पार्टी चलाएको, पार्टीभित्र नेताहरूबीच द्वन्द्व बढाएको लिखित आरोप लगाएका थिए । उनले केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशन तोक्नुपर्ने बताएका थिए । प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्नुपर्ने शर्माको प्रस्ताव थियो । उनले नेतृत्व हस्तान्तरणको विषय पनि उठाएका थिए । अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने शर्माको प्रस्ताव थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने अध्यक्ष दाहालको विकल्प खोज्नुपर्ने बेला नभएको बताएका थिए । उनकै नेतृत्वमा पार्टी बलियो बनाउनुपर्ने उनको धारणा थियो । श्रेष्ठले पार्टी निर्माणको दिशामा नीति केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताए । अध्यक्ष दाहाल आफैंले पनि तत्काल नेतृत्व हस्तान्तरण नगर्ने अभिव्यक्ति दिएका छन् । ‘पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा मेरो मनमा आइरहेको छ । तर सरकारबाट बाहिरिनेबित्तिकै छाड्नु ठीक हुँदैन भन्ने लागेको छ,’ उनको भनाइ थियो, ‘पार्टी बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।’ अर्का उपमहासचिव वर्षमान पुनले पार्टीका सबै काम पारदर्शी हुनुपर्ने बताए । उनले पार्टी खुला राजनीतिमा आइसकेपछि नेताहरूको व्यवहार पनि पारदर्शी हुनुपर्ने धारणा राखे । नेताहरू स्पष्ट भए सबै अन्तरविरोध समाधान हुने उनको भनाइ थियो । ‘पार्टीमा अविश्वास छ भनेर खुले राखौं,’ उनले भनेका थिए, ‘नेताहरूले आफ्नो आयव्यय खुला रूपमा देखाउनुपर्छ । कसैको घर छ, अरु क्षेत्रमा लगानी छ भने भनौं । गाडी हुनेले मेरै हो भनेर चढौं । लुकाउनुपर्ने आवश्यकता छैन ।’ उनले जनतालाई समृद्धि बनाउने मुद्दा लिएका नेताहरूले व्यक्तिगत आर्थिक गतिविधि लुकाउन जरुरी नभएको बताए । ‘पार्टीभित्र अर्थराजनीति विकास गरेर जाऔं । खुलस्त नीति बनाएर पारदर्शी ढंगले जाऔं,’ पुनले भनेका थिए । सचिव राम कार्कीले सरकारबाट समाजवादको आधार कति तयार भयो भन्ने प्रश्न गरे । ‘सरकारमार्फत समाजवाद ल्याउने कुराको समीक्षा हुनुपर्छ । पार्टीको हालत के भयो ?’ उनको भनाइ थियो, ‘यसको निर्मम समीक्षा हुनुपर्छ । कम्युनिस्ट आन्दोलन पंक्ति कति तयार गर्यौं ?’ उनले कम्युनिस्ट पार्टीमा यही नै नेतृत्वमा हुुनुपर्ने भनेर ‘अपरिहार्य’ विधि नभएको टिप्पणी गरे । अर्का सचिव गणेश साहले सरकारमा गएर कृषि, उद्योगबाट उत्पादन नबढाए समाजवाद आउन नसक्ने धारणा राखे । उनले जलवायु परिवर्तनको असरलाई राजनीतिक मुद्दा बनाएर जानुपर्ने धारणा राखे । अर्का सचिव देवेन्द्र पौडेलले विगतको गठबन्धनबाट शिक्षा लिएर जनतासमक्ष कार्यक्रम लिएर जानुपर्ने बताए । बैठकमा बोल्ने नेताहरूले पार्टी निर्माणलाई प्राथमिकताका साथ उठाए । योजना बनाएर अभियानात्मक रूपमा तल्लो तहसम्म जानुपर्नेमा उनीहरूको जोड थियो । स्थायी समिति सदस्य गणेशमान पुनले स्थानीय मुद्दा लिएर जनतासमक्ष जानुपर्ने र खासगरी स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने धारणा राखे । नेताहरूले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग दसैंअघि नै एकता गर्न सुझाव दिएका थिए । बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनावचिह्न फेर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् । वर्तमान परिवेश र कामअनुरूप तालमेल हुने गरी पार्टीको नाम र आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनावचिह्न फेर्नुपर्ने उनको धारणा छ । शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् । ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने । शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए । ‘पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो,’ उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’ सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुश्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको समेत शर्माले बताए । उपमहासचिव शर्माले मूल नेतृत्वले आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौं महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको र हलको अभिमतलाई अस्वीकार गरेको आरोप पनि लगाएका छन् । उनले गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रिपाकलापले पार्टीलाई भएको वैचारिक र व्यावहारिक लाभ–हानिको मूल्यांकन गर्नुपर्ने माग गरेका छन् ।











