पेरिस ओलम्पिक : मनिता सर्बियाली मरिकासँग पराजित
काठमाडौँ — नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिकमा सोमबार भएको खेलमा पराजय व्यहोरेकी छन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको जुडो प्रतिस्पर्धाअन्तर्गत मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा सर्बियाली खेलाडी मरिका पेरिसिकसँग इप्पोनका आधारमा पराजित भइन् ।
कम्तीमा एउटा बाउट जित्ने लक्ष्य राखेकी मनिताले १०–० ले ले खेल गुमाएकी थिइन् । राउन्ड अफ ३२ को खेलमा युरोपियन च्याम्पियनसिपकी जुनियरतर्फ स्वर्ण विजेता मरिकाले मनितालाई कुनै मौका दिइनन् ।
दुई साग र दुई एसियाडको अनुभव बोकेकी खेलाडी मनिताले उद्घाटनमा नेपालको झन्डा पनि बोकेकी थिइन् ।
यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा र सुटिङकी सुस्मिता नेपालले ओलम्पिक यात्राबाट बाहिरिइसकेका छन् ।
पेरिस ओलम्पिकमा आजै राति ब्याडमिन्टनका प्रिन्स दाहालले समूहको दोस्रो खेलमा आयरल्यान्डका नहात गुयनसँग खेल्नेछन् । पहिलो खेलमा प्रिन्स डेनमार्कका भिक्टोर एक्सेल्सनसँग सोझो सेटमा पराजित भएका थिए ।

















