आयरल्यान्डको उत्कृष्ट पुनरागमन


आयरल्यान्डको उत्कृष्ट पुनरागमन

काठमाडौँ — एन्डी म्याकब्रेन ब्याट र बल दुवैबाट चम्केपछि आयरल्यान्डले एक मात्र टेस्टको शृंखलामा आइतबार जिम्बावेलाई चार विकेटले पराजित गरेको छ । माथिल्लो क्रमको नाटकीय पतनबाट जोगिँदै आयरल्यान्डले यो जित निकालेको हो । 

आयरल्यान्डको उत्कृष्ट पुनरागमन

जितका लागि १ सय ५८ रनको मात्र लक्ष्य पाएको आयरल्यान्डले तेस्रो दिनको खेल समाप्तिमा ५ विकेट गुमाएर ३३ रन मात्रै बनाएको थियो । त्यसमा जिम्बावेका लागि रिचार्ड एनगारभाले घातक बलिङ गरे । उनले त्यति बेला १२ रनमा ४ विकेट लिएका थिए ।

तर उत्तरी आयरल्यान्डमा खेलिएको पहिलो टेस्टमा आइतबार थप १ विकेट मात्र झर्‍यो । लोरकान टकरले ५६ रन बनाए । उनले ५५ रन बनाएर अविजित रहेका म्याकब्रेनलाई बलियो साथ दिए । उनीहरूले निर्णायक साझेदारी सुरु अगाडि टिमले २१ रनमा ५ विकेट गुमाइसकेको थियो । त्यसयता उनीहरूले छैटौं विकेटका लागि ९६ रनको ठोस साझेदारी गरे ।

टकर आउट भएपछि आयरल्यान्डलाई थप ४१ रनको आवश्यकता थियो । त्यस स्थितिमा मार्क एडायरले आक्रामक भएर २४ रन बनाए । उनले नै विजयी चौका प्रहार गरे र टिमले ६ विकेटमा १ सय ५८ रन बनाएको थियो ।

आयरल्यान्डले एक दिनको खेल अगाडि नै यो सानदार जित निकालेको हो । अफ स्पिनर म्याकब्रेन नै प्लेयर अफ द म्याच रहे । उनले समग्रमा ७५ रन खर्चेर ७ विकेट लिए ।